स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी

रुपन्देही – स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम सुरु भएको छ । मुनस्टार इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि, दाङले डीपीआर निर्माणको जिम्मा पाएको छ । अबको आठ महिनाभित्र डीपीआर सम्पन्न हुने बताइएको छ ।

प्रारम्भिक सर्वेक्षणबाट रेल्वे निर्माणको लागत झन्डै सात अर्ब रुपियाँ रहेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए । तिलोत्तमा नगरपालिकाको ५२ किलोमिटर लामो चक्रपथमा सञ्चालन हुने उक्त ट्राम÷रेल्वे निर्माणमा समुदायको लगानी रहने नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । हालसम्म ५०५ जनाले प्रतिव्यक्ति एक लाख रुपियाँको दरले सेयर लगानी गरेको रेल्वे कम्पनीका सञ्चालक डिल्लीनारायण पाण्डेले जानकारी दिए । कुल ५२ किलोमिटरको दूरीमा सञ्चालन गरिने रेलका लागि १७ वटा स्टेसन बनाइने छ । पहिलो चरणमा दुई वर्षभित्र योगीकुटीदेखि रोहिणी नदीको जलाशयसम्मको १४ किलोमिटर सडकमा रेल सञ्चालन हुने घिमिरेले बताए ।

नगरप्रमुख घिमिरेले सामुदायिक रेल्वे निर्माण र सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । नेपाल रेल्वे कम्पनी जनकपुरका पूर्वमहाप्रबन्धकसमेत रहेका रेल्वे कम्पनीका प्रबन्धक भोला शर्माले नगरपालिकाको समन्वयमा नगरपालिकाले भनेअनुसार रेल्वे सेवा सञ्चालन गरिने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भुवन कार्कीले लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्