दैलेखमा पेट्रोलियम ड्रिल गर्ने समय छ महिना पछि स-यो

FILE PHOTO

काठमाडौँ – दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काम छ महिनापछि गरिने भएको छ । बन्दाबन्दी नभएको भए तिहारपछि ड्रिल गर्ने र त्यसका लागि गत जेठमै चीनबाट ड्रिल गर्ने उपकरण ल्याउने योजना थियो तर चैतदेखि नै बन्दाबन्दी भएका कारण उपकरण ल्याउन सकिएको छैन । त्यसैकारण खानी तथा भूगर्भ विभागले छ महिनापछि माघ÷फागुनतिर ड्रिल गर्ने कार्यतालिका बनाएको छ । विभागका उपनिर्देशक सुधीर रजौरेले भन्नुभयो, “बन्दाबन्दी नभएको भए अहिलेसम्म ड्रिल गर्ने औजार चीनबाट आइसक्थ्यो तर बन्दाबन्दीले हवाई सेवासमेत बन्द भएकाले ड्रिल औजार ल्याउन सकिएको छैन । अब सन् २०२० मा काम होलाजस्तो छैन, २०२१ को सुरुबाट ड्रिल गर्ने सोच छ । ” ड्रिल औजार चीनको कम्पनीले आफैँ ल्याउँछ ।

विभागले गत आर्थिक वर्षको सबै काम सम्पन्न गरेको जनाएको छ । गत वर्ष गरिएको अध्ययनले ड्रिल गर्ने स्थानको पहिचान गरेको छ तर त्यसको प्रतिवेदन भने आइसकेको छैन । कुन स्थानबाट ड्रिल गर्ने भन्ने पहिचान गर्न गरिएको अध्ययनको प्रतिवेदन निर्माण अन्तिम अवस्थामा रहेको रजौरेले जानकारी दिनुभयो । चीनको अध्ययन समूहले प्रतिवेदन अध्ययन गरिरहको र उनीहरूले छिट्टै निष्कर्ष दिने विभागले जनाएको छ । अबको काम ड्रिल गर्ने प्रक्रिया नै भएको उहाँले बताउनुभयो ।

विभागका अनुसार विगतका अध्ययनले दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने कुरा देखाएको छ । रजौरेले भन्नुभयो, “हामीले अध्ययन गरेकामा पेट्रोलियम पदार्थ छ भन्ने त पक्का भयो तर कति र कस्तो छ भनेर पत्ता लगाउने काम भने ड्रिलबाट मात्र हुन्छ । ” उहाँका अनुसार कच्चा पेट्रोलियम पदार्थ जम्मा भएर रहने खालको भौगर्भिक संरचना दैलेखमा छ । विभागले गत वर्ष ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’ गरेको थियो । सोही सर्भेका आधारमा ड्रिलको काम गर्न लागिएको हो । ४.५ किलोमिटर गहिराइमा ड्रिल गरिनेछ । ड्रिल एक स्थानबाट मात्र नभई विभिन्न स्थानबाट गरिने योजना छ । जसका लागि सम्भावित स्थानहरूको पहिचान हुँदै छ । दैलेख सदरमुकामदेखि पाँच किलोमिटर पश्चिममा २० किलोमिटर क्षेत्रको तीन स्थानबाट अन्वेषणको काम हुँदै आएको छ । चिनियाँ सहयोगअन्तर्गत गर्नुपर्ने काम सम्पन्न भएका छन् । उपनिर्देशक रजौरेका अनुसार ड्रिल गर्नुअघि ‘जियोलोजिकल म्यापको अपडेट’ र ‘सेक्सन मेजरमेन्ट’अन्तर्गत खोलामा गएर चट्टान कति गहिराइमा छ पत्ता लगाउने काम हुनेछ ।

उहाँले भन्नुभयो, हामीहरूको मुख्य काम फिल्डमा गएर गर्नुपर्ने हुन्छ, फिल्डमा नगएपछि काम हुँदैन । वर्षात्मा हाम्रो क्यालेन्डरमा फिल्डको काम राखिँदैन, प्रतिवेदन लेखन र अरू तयारीका काम हुन्छन् । ” सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई तीव्रता दिने व्यवस्था गरेको थियो

गोरखापत्र अनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्