पुर्व कानुन मन्त्रीको पहलमा ईन्द्रावतीमा करोडौंको खानेपानी योजना

सुशील सुवेदी
सिन्धुपाल्चोक – ईन्द्रावती गाउँपालिकामा खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान हुने भएको छ । उक्त पालिकाका वडा नं. ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का सम्पूर्ण बस्तीहरु समेटेर खानेपानी बितरण गर्न ईन्द्रावाती बृहत खानेपानी आयोजनाको लागि रु. ४९ करोड ४१ लाख ९२ हजार ८ सय १४ रुपैंयाको लागत ईष्टिमेट तयार गरिएको थियो । सोही लागत ईष्टिमेटको आधारमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडले टेण्डर आह्वान गरेको छ ।
पुर्व कानुन मन्त्री एवम सोही क्षेत्रका संघीय सांसद शेर बहादुर तामाङका अनुसार माधव कुमार नेपालको प्रधानमन्त्रीत्व कालमा ईन्द्रावती र साँगाचोक क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्रको रुपमा पहिचान गरिएको थियो । सो क्षेत्रलाई आयोजना सम्पन्न गर्न योजनामा समावेश गर्न तत्कालीन सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्बाचित भएका वर्तमान सभामुख अग्नि प्रसाद सापकोटाको बिशेष पहल र आफ्नो निरन्तरको प्रयासबाट आयोजना स्वीकृत गर्न सफल भएको बताए ।

उक्त आयोजनाको जिल्ला खानेपानी डिभिजन कार्यालय सिन्धुपाल्चोक र ईन्द्रावती गाउँपालिकाको संयुक्त लगानीमा सर्भे गरिएको गाउँपालिका प्रमुख वंशलाल तामाङले बताए । सो आयोजनाको वडा स्तरमा ट्याँकी स्तरको समितिहरु समेत बनिसकेको गाउँपालिका श्रोतले जानकारी गराएको छ । प्रारम्भीक सर्भे गर्दा गाउँपालिकाका वडा नं. १,२ र ३ पुरै र वडा नम्बर ६ को तिनघरे, बसन्तपुर, वितलब र तीनढुंगेका ३०० घरधुरी, वडा नं ८ सुन्दरीपुरका ३५ घरधुरी, वडा नं ९ सिपाटार तल्लो तामाङ बस्ती ७५ घरधुरी, वडा नं १० झोलुङ्गे ९२, मरनडाँडा मसार ३५ घरधुरी र वडा नं ११ बिसदेउटार ६३ घरधुरी छुट हुन गएको थियो । माननीय तामाङको निर्देशन पश्चात संघीय खनेपानी तथा ढल ब्यबस्थापन आयोजना, हेटौंडाले गत आ.व.मा नै छुट भएको वडा नं ६,८,९,१० र ११ का करिब ६०० घरधुरीको पुन सर्भे गरी समेटि सकिएको संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना, हेटौंडाका कामु आयोजना प्रमुख मोहनलाल जैसीले बताए ।

हाल छुट हुन गएको वडा नं १,२ र ३ लाई पनि यस आयोजनामा समेट्नुपर्ने स्थानीयको जोडदार माग गाउँपालिकामा पेस भएको छ । छुट हुन गएको वडाहरु मध्ये वडा नं २ र ३ को लागी बसेरी पाछाम खोला कोटडांडा खानेपानी आयोजना क्रमागत रुपमा सम्पन्न गर्न केन्द्रीय बजेटमा समेटी सकिएको र आ.व. २०७७÷७८ का लागि रु. ५० लाख बिनियिजन समेत गरि सकेको सांसद तामाङले बताए ।

सबै छुट भएका वडाहरु र बस्तीहरु समेटेर आयोजना सम्पन्न गर्दा सिंङ्गै ईन्द्रावती गाउँपालिकाको खानेपानी समस्याको दीर्घकालीन समाधान हुने नेकपाका जिल्ला अध्यक्ष तथा सो आयोजनाका उपभोक्ता समेत रहेका झम्क नेपालले बताए ।
साँगाचोक क्षेत्रमा संचालित अर्को ३४ करोडको हर्रै टुनिबोटे साँगाचोक खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा रहेको तामाङले बताए । स्मरण रहोस, कोरोना संक्रमणबाट सिर्जित जटिल अपरिस्थितिमा समेत सांसद तामाङको बिशेष पहलमा खानेपानी मन्त्रालयद्वारा बिनियोजित रु. ६ करोड रकमका विभिन्न ४९ वटा साना तथा मझौला आयोजनाहरु मध्ये करिब ४० वटा आयोजनाहरुका सम्झैता भै हाल कार्यान्वयनको चरणमा रहेको र जिल्लाका दुबै क्षेत्रका अन्य योजनाहरुको डिपिआर समेत भैरहेको तामाङका स्वकीय सचिव निर्मल बञ्जाराले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्