‘एसईई नतिजामा मनपरी अङ्क दिनसक्ने चुनौती, भविष्यमा कोरोना ब्याच भनेर बिल्ला हुने प्रवल सम्भावना’

बिष्णु सिंह बोहरा

विश्व महामारी कोरोना भाइरस कोभिड-१९ को कारणले रोकिएको एसईई परीक्षा नगर्ने नेपाल सरकारको घोषणा संगै मुलुक भरी एसईई दिने तयारीमा रहेका विद्यार्थीको परीक्षाफलको सन्दर्भमा अन्यौल कायमै छ।

सरकारले विद्यालयले गरेको आन्तरिक मूल्याकंन लाई नै विद्यार्थीको मूल्यांकनको मुख्य आधार मानी परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेको छ। विद्यालयहरूलाई विद्यार्थीको आन्तरिक मूल्याकंन गर्न आवश्यक कार्यविधि बनाउन शिक्षा मन्त्रालयले कार्यदल गठन गरेको छ। अधिकांश विद्यालयहरू विद्यार्थीको आन्तरिक मूल्याकंन गर्न सोही कार्यविधि लाई अवलम्बन गरिरहेका छन्। तर शिक्षा संग सम्बद्ध शिक्षाविद् र शिक्षक-शिक्षिकाहरूले आन्तरिक मूल्याकंनमा विद्यालयहरूबाट हुन सक्ने कमजोरी वा पक्षपात ले विद्यार्थीको भविष्य र समग्र शिक्षाको स्तर नै ओरालो लाग्न सक्नेमा चिन्ता व्यक्त गरेका छन्।

विद्यार्थीहरूको मूल्यांकन गर्न विद्यालय हरूले इमानदारी देखाउनु पर्ने हुन्छ। एसईईको नतिजा लाई नै विद्यालयको स्तर मापन गर्ने हाम्रो मुलुकमा विद्यालयहरूले आफ्नो स्तर माथि देखाउन विद्यार्थी हरूको गलत मूल्यांकन गर्न सक्ने सम्भावना बढी छ। यस्तो गलत मूल्यांकनले विद्यार्थीको भविष्यमा दखल पुग्न सक्छ। अहिले विद्यालयले गर्ने गलत मूल्यांकनले उच्च तहमा पढाई छोड्ने, आत्मा हत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्न सक्छ । विगतका एसईई परीक्षामा विद्यालयहरूले आफुले दिने प्रयोगात्मक परीक्षाको अङ्कमा विद्यार्थी लाई वास्तविक भन्दा बढी अङ्क दिने गरिएको थियो। त्यसैले त्यस्ता गलत मूल्यांकन दोहोरिने धेरै सम्भावना रहेको छ। सरकारले एघार कक्षामा पनि यसरी नै आन्तरिक मूल्याकंनको आधारमा परीक्षा नगरी नतिजा निकाल्ने तयारी गरिरहेको सुनिन्छ।

यस खालको मूल्यांकनले हाम्रो शिक्षाको स्तर क्रमस:ओरालो लाग्ने देखिन्छ। हुनेखाने परिवारले त अलग शिक्षकको बन्दोबस्त गरेर गुणस्तरीय शिक्षा दिनसक्छन् । यसको मार बिशेषत: समाजको तल्लो तहका विद्यार्थी लाई पर्ने छ। विद्यालयहरूले आफ्ना विद्यार्थी लाई मनपरी अङ्क दिने चुनौती बारे सरकार गम्भीर हुनुपर्छ। शिक्षक स्वयंले नै मूल्यांकन गर्ने थाहा पाएपछि अभिभावकले पनि आफ्ना नानीको अङ्कमा बिचार गरिदिन आग्रह गर्न सक्ने सम्भावना प्रवल छ। विभिन्न ईष्टमीत्र, भाईबन्धु र नातागत हिसाबमा विद्यार्थीको मूल्यांकनमा फेरबदल हुन सक्ने सम्भावना बढी छ। त्यसैले आन्तरिक मूल्याकंन गर्न त्यति सहज छैन। बेला बेलामा घटना सुनिने गर्छन, थेसिसमा अङ्क बढी नदिएको भन्दै विश्वविद्यालयमा प्राध्यापकलाई कुटेका घटना धेरै सुनिन्छन्। एसईई कै कुरा गर्दा विगतमा प्रयोगात्मक परीक्षामा कम अङ्क दिएको भन्दै विद्यार्थीले शिक्षक लाई कुटेका घटना थुप्रै छन् ।

अभिभावकको पनि यस्तो मनोविज्ञान अझै हटेको छैन। त्यसकारण वैज्ञानिक मूल्यांकन नहुने पक्का छ। विद्यार्थीले एक वर्षमा दिएका परीक्षाका साथै उसले विद्यालयमा गर्ने गतिविधि, सामाजिक तथा अतिरिक्त गतिविधिमा सहभागिता आदि लाई आधार मानेर विद्यालयले  विद्यार्थी को मूल्यांकन गरे अलि सहज छ। शिक्षा मन्त्रालय को कार्यविधि मस्यौदामा कक्षा दश को पहिलो त्रैमासिक परीक्षा को 10%,दोस्रो त्रैमासिक परीक्षा को 30% र अन्तिम त्रैमासिक परीक्षा को 60% को आधारमा विद्यार्थीको मूल्यांकन गर्नु पर्ने प्रावधान छ । तसर्थ अहिलेको वर्तमान परिप्रेक्ष्यमा आन्तरिक मूल्याकंनको विकल्प नरहेकाले विद्यार्थीको भविष्य माथि खेलवाड नहूने गरी, पक्षपात भन्दा माथि उठेर वास्तविक मूल्याकंन गर्नु पर्ने विद्यालय हरू लाई ठुलो चुनौती छ।

यदि विद्यालयले आन्तरिक मूल्याकंनमा मनोमानी गर्यो भने विद्यालय र विद्यालयका शिक्षक माथि भविष्य मा गम्भीर प्रहार होला भन्न सकिने स्थान धेरै छ।अर्को तिर विद्यालयले विद्यार्थीको सही मूल्यांकन गर्न सकेन भने विद्यार्थीको शिक्षा तिर वितृष्णा पैदा भई शिक्षाको दर घट्न सक्ने पनि उतिकै सम्भावना छ। जे होस हरेक कुरा लाई व्यवस्थापन गरेर विद्यालय ले विद्यार्थीको आन्तरिक मूल्याकंन वास्तविक सच्चा गहिराईमा गएर गर्नु पर्ने देखिन्छ। विद्यालयको गलत आन्तरिक मूल्याकंनले भोली गएर यो मुलुकमा विकराल रूप नलेओस, यस पट्टी सबै विद्यालय र शिक्षक-शिक्षिकाहरूले गम्भीर भएर सोच्नु जरूरी छ। अर्को तिर जटिल रूपमा भविष्यमा कतै अहिलेको एसईईको ब्याच लाई कोरोना ब्याच त भनिने होइन भनेर बहुतै चिन्ता र चासो को विषय रहेको छ। सन् 2019 जनवरी मा उत्तरी छिमेकी मुलुक चिनको वुहान बाट फैलिएको विश्व महामारी कोरोना भाइरसको सङ्क्रमणले मानवजाति लाई चुनौती दिएर विभिन्न आयाम बाट महत्वपुर्ण पाठ सिक्ने अवसर दिएको छ। एसईई परीक्षाको विकल्प आन्तरिक मूल्याकंन भएको हुंदा हामी अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले विश्वसनीय र सही मूल्यांकन गर्न सहयोग गरौं ताकी हाम्रा बालबालिकाहरू जिन्दगीको लागि तयार होऊन।

जिन्दगीका हरेक चुनौती लाई चिरेर अवसर सृजना गर्न सक्ने सक्षम, योग्य नागरिक तयार होऊन। सिकाईले व्यवहारमा सकरात्मक परिवर्तन ल्याउंछ।मूल्यांकन ले व्यवहार परिवर्तन को मापन गर्छ। उच्च आकांक्षा राख्नु मानवीय स्वभाव हो। हरेक अभिभावकले आ-आफ्ना नानीहरूको राम्रो भविष्यका लागी उच्च ग्रेडको अपेक्षा गर्नु न्यायोचित छ। विद्यार्थीले पनि आफुले उत्कृष्ट अङ्क पाओस् भन्ने आश गर्नु स्वभाबिक नै हो। तर, यस्तो भनिरहंदा अभिभावकले पनि आफ्ना नानीको क्षमता लाई बिर्सेर आन्तरिक मूल्याकंन लाई प्रभावित हुने गरी शिक्षक तथा विद्यालय लाई दबाब दिनु हुन्न।आन्तरिक मूल्यांकनलाई सही बनाउन विद्यालयका तिन वटै पक्षले इमानदारीता देखाउनै पर्छ।शिक्षा जीबन जीउने आधार भएका अभिभावकले बालबालिकालाई परीक्षाका लागी मात्रै नभएर जीवन जीउनको लागी तयार गर्ने सोच बनाई आन्तरिक मूल्याकंन लाई दबाब रहीत बनाउन आवश्यक छ।

यदि यस्तो हुन सकेमा एसईईको नतिजा हाल सम्मकै उत्कृष्ट हुने पक्का छ। अक्षराङ्कन पद्धतिले यथोचित न्याय पाएको हुने छ। कोरोना भाइरसको बिगबिगी भएपनि बालबालिकाहरूले परीक्षा नै भइदिएहुन्थ्यो भनिरहेको अवस्था छ। भविष्यमा उनीहरूलाई ‘एसईई 2076 को ब्याच ‘नभनी ‘कोरोना ब्याच’भनी सम्बोधन हुनेमा चिन्ता छ। कतिपय अब्बल विद्यार्थी हरू परीक्षा नलिने निर्णय भएपछि निराश बनेका छन् ।आन्तरिक मूल्यांकन बाट प्राप्त हुने शैक्षिक योग्यता का प्रमाणपत्रले भविष्यमा सम्मानजनक स्थान बनाउन सक्लान् की नसक्लान् भन्ने कुरा हरूमा उनीहरू चिन्तित छन्। यस्तो चिन्ता निवारण र गलत सम्बोधनको शिकार नहोस् भन्नका लागी सबै शिक्षक, विद्यालय प्रशासन, अभिभावक तथा शिक्षा संग सरोकार राख्ने सम्बन्धित सबै निकायले सकरात्मक भुमिका खेल्न जरूरी छ।निष्पक्ष,स्वच्छ र पारदर्शी मूल्यांकन को लागी सहयोग गर्नु हामी सबै को नैतिक जिम्मेवारी हो।

लेखक:बिष्णु सिंह बोहरा ठेगाना:रानीशिखर, कांडापारी, दार्चुला

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्