सुशान्त सिंह राजपूतको जीवनको अन्तिम पलको कहानी

सुशान्तको मुम्बईमा आफ्नै फ्ल्याट पनि थियो तर उनी ठूलो घरमा बस्न चाहन्थे त्यसैले आठ महिना अघि उनी भाडामा फ्ल्याटमा बसिरहेका थिए ।

उनी उक्त फ्ल्याटमा एक्लै बस्दैनथे । उनीसँग उनका क्रिएटिभ म्यानेजर, उनका एक साथी र घरेलु सहयोगी बस्दथे । उक्त घरमा बस्ने कुनै पनि सदस्यले आइतबार बिहान अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम बिहान होला भनेर सोचेका थिएनन् ।

सुशान्त सिंह राजपूतका घरेलु सहयोगीले प्रहरीलाई उनीबारे जानकारी दिएका छन् । उनले भने, ‘बिहानसम्म सबै कुरा ठिक थियो । बिहान साढे ६ बजे सुशान्त सिंह सुतेर उठेका थिए । मेलै उनलाई बिहान ९ बजे अनारको जुस दिएँ उनले त्यो पिए पनि । त्यसपछि सुशान्तले ९ बजे नै आफ्नी बहिनीसँग कुराकानी गरे । बहिनीपछि उनले आफ्ना साथी महेश शेट्टीसँग पनि कुरा गरे । महेश शेट्टी अभिनेता हुन् र उनले नै सुशान्तलाई आफ्नो अभिनय करियरको सुरुवात गराएका थिए ।’

‘उनीहरु एकसाथ एकता कपुरको शो ‘किस देश मे होगा मेरा दिल’ मा देखिएका थिए । यी दुई निकै राम्रा साथी थिए र सुशान्तले अन्तिम पटक उनलाई नै फोन गरेका थिए । त्यसपछि उनी आफ्नो कोठामा गए, ढोका भित्रबाट बन्द गरिदिए । जब १० बजे खाना बारे सोध्न गएँ तब उनले ढोका खोलेनन् ।’

‘त्यसको दुई तीन घण्टापछि म्यानेजरले सुशान्तकी बहिनीलाई फोन गरे । त्यसपछि बहिनी आइन् र चाबी बनाउने व्यक्तिलाई बोलाएर ढोका खोलियो । त्यसपछि जो दृश्य हामीले देख्यौं, हामी स्तब्ध भयौं ।’

प्रहरीका अनुसार सुशान्तको मृत्यु १० बजेदेखि १ बजेबीच भएको हो । बहिनी र त्यहाँ उपस्थित अन्य मानिसहरुले सुशान्तको शवलाई पङ्खामा झुण्डिरहेको देखे । उनका घरेलु सहयोगीले नै प्रहरीलाई फोन गरेका हुन् ।

प्रहरीले मिडियासँगको कुराकानीमा भने, ‘हामीले सुशान्तको मृत्युको खबर दुई बजे पायौं र साढे २ बजे प्रहरी उनको फ्ल्याटमा पुगे । मुम्बई प्रहरीले साढे दुई बजेदेखि नै आफ्नो अनुसन्धान सुरु गरिदियो । प्रहरीले फ्ल्याटबाट अहिलेसम्म कुनै सुसाइड नोट भेटेको छैन ।’

सुशान्तको शवलाई बेलुकी साढे पाँच बजे डाक्टर आरएन कपुर अस्पताल पुर्याइयो । जहाँ उनको पोस्टमार्टम गरिनेछ ।

बेलुकी करिब ७ बजे मुम्बईका डिसीपी जोन–९ का अभिषेक त्रिमुखेले मिडियासँगको कुराकानीमा भने, ‘सुशान्तको मृत्यु पासो लगाएका कारण भएको हो तर प्रहरीले पोस्टमार्टम रिपोर्ट पाएपछि मात्रै उनको मृत्युको सही कारण बताउन सक्छ । अहिलेसम्म हामीले केही संदिग्ध वस्तु फेला पारेका छैनौं ।’

अभिनेता सुशान्त सिंह राजपूत ३४ वर्षका थिए र उनले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाएका थिए । आइतबार बेलुकी उनका पितालगायत पूरा परिवार मुम्बई गएको र सोमबार उनको अन्तिम संस्कारको प्रक्रिया सुरु हुनेछ ।
स्रोत : बीबीसी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्