सुदूरपश्चिममा जेठ महिनामा मात्रै १ लाख १६ हजार नेपाली भित्रिए

गोदावरी – भारतबाट सुदूरपश्चिमका चार नाका भएर एक लाख १६ हजारभन्दा बढी नेपाली नेपाल भित्रिएका छन् । जेठ महिनामा मात्रै एक लाख १६ हजार पाँच सय नेपाली सुदूरपश्चिम भित्रिएका हुन् । सबैभन्दा बढी कैलालीको त्रिनगर नाका भएर भारतमा अलपत्र नेपाली भित्रिएका छन् भने सबैभन्दा कम दार्चुलाको नाका भएर भित्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जेठको २७ दिनमा धनगढीस्थित त्रिनगर नाका भएर मात्रै ७८ हजार बढी नेपाली भित्रिएका छन् । ‘शुरुमा २ र ३ गते पलिया र रामपुर क्वारेन्टाइनमा रहेका नेपालीको उद्धार गरिएको थियो,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘त्यसपछि ७ गतेबाट नाका खोलियो र आज पनि भारतमा अलपत्र नेपालीको उद्धार जारी छ ।’
उनका अनुसार त्रिनगर नाका भएर भित्रिएकामध्ये अधिकांश सुदूरपश्चिम प्रदेशकै रहेका छन् । पछिल्लो समय भित्रिने नेपालीको सङ्ख्या घटेको छ । उता, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरकाअनुसार गड्डाचौकी नाका भएर जेठ महिनामा झण्डै २८ हजार नेपाली भित्रिएका छन् । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले गड्डाचौकी नाका भएर भित्रिएका सबैलाई सम्बन्धित पालिकाको समन्वयनमा गन्तव्यमा पठाइएको बताए ।

यस्तै, गड्डाचौकी नाकाबाट तीन हजार ६४३ जना भारतीय नागरिकलाई पनि भारत पठाइएको छ । बैतडीको झुलाघाट नाकाबाट जेठमा झण्डै १० हजार नेपाली भित्रिएका छन् भने दार्चुला नाकाबाट तीन सयभन्दा बढी नेपाली भित्रिएका छन् ।
जेठ महिनामा मात्रै एक लाख १६ हजार बढी नेपाली सुदूरपश्चिम भित्रिए पनि परीक्षण भने चार प्रतिशतको पनि भएको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार अहिलेसम्म सुदूरपश्चिममा ८ हजार बढीको कोरोना परीक्षण भएकोमा जेठ महिनामा मात्रै पाँच् हजार पाँच सयको परीक्षण भएको छ ।

पछिल्लो समय आन्तरिक ट्राभल हिस्ट्री भएका शङ्कास्पद बिरामी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारको मात्रै परीक्षण भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार जेठमा पाँच हजार पाँच सयको कोरोना परीक्षण गरिएकोमा भारतबाट फर्किएका चार हजारको मात्रै परीक्षण भएको छ । जसमध्ये २५० जनामा कोरोना सङ्क्रमण देखिएको छ । गोरखापत्रअनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्