नेपालमा सुरक्षा निकायका ५३ जना कोरोना संक्रमित

काठमाडौं – मुलुकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् ।

देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा सङ्क्रमण देखिए पनि जोखिम मोलेरै उनीहरु कर्तव्यपथमा सक्रिय छन् । मुलुकमा अहिलेसम्म तीन हजार ४४८ जनामा संक्रमण देखिएकामा सुरक्षा निकायका ५३ जनामा सङ्क्रमण भएको छ । यसमा सबैभन्दा बढी ३३ जना नेपाल प्रहरीका छन् । नेपाली सेनाका १४ मध्ये सातजना विदेशमा सङ्क्रमित भएका हुन् । सशस्त्र प्रहरीका पाँच र राष्ट्रिय अनुसन्धान विभागका एकजनामा कोभिड–१९ पुष्टि भएको छ । नेपाल प्रहरीका ३३ मध्ये १४ जना निको भएर होम क्वारेन्टिनमा फर्किसकेको र १९ जनाको उपचार जारी छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले मापदण्ड बनाएर आवश्यक सुरक्षा सावधानी अपनाइए पनि केही कर्मचारीमा सङ्क्रमण देखिएको बताउनुभयो । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को सङ्क्रमण रोक्न कूल ४६ हजार प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले केहीमा सङ्क्रमण देखिए पनि मनोबल उच्च पारेर सशस्त्र प्रहरीले काम गरिरहेको बताए ।

उनका अनुसार पाँच सशस्त्र प्रहरीमा कोभिड–१९ देखिएकामा चारजना निको भएर फर्किसकेका छन् । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्वदेश र विदेशमा गरेर १४ जनामा सङ्क्रमण देखिएको जानकारी दिए । काठमाडौँबाहिर सातजना सङ्क्रमित रहेको तथा दक्षिण सुडानमा तीन, अफ्रिकामा दुई र मालीमा दुईजना सङ्क्रमित भएको पाण्डेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्