कोरोना भाइरसको प्रकोप दक्षिण एशियामा व्यापक बन्दै

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रकोप पछिल्ला केही हप्तामा दक्षिण एसियाली राष्ट्रहरुमा व्यापक देखिएको छ ।

दक्षिण एसियामा कोरोना संक्रमणका कारण हालसम्म १० हजार ४ सय ८६ जनाको मृत्यु भइसकेको छ । यसैगरी हालसम्म साढे ४ लाख मानिसहरु यस क्षेत्रमा संक्रमित भएका छन् । दक्षिण एसियामा भारत सबैभन्दा बढी प्रभावित छ भने कुनै मानवीय क्षति नव्यहोरेको भुटान कम प्रभावित छ । विश्वमा संक्रमितको संख्याका हिसावले पाँचौ नम्बरमा रहेको भारतमा कोरोना संक्रमितको सङ्ख्या २ लाख ५७ हजार नाघिसकेको छ । यसै गरी कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या पनि ७ हजार भन्दा बढी छ । भूटानमा ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दक्षिण एशियामा दोस्रो बढी प्रभावित मुलुक पाकिस्तान हो । पाकिस्तानमा हालसम्म एक लाखको हाराहारीमा संक्रमित पुगिसकेका छन् भने २ हजार जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

बङ्गलादेशमा ६५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ८ सय ८८ जनाको मृत्यु भएको छ । यसैगरी अफगानिस्तानमा कोरोना संक्रमितको सङ्ख्या २० हजार नाघेको छ भने ३ सय ५७ जनाले ज्यान गुमाएका छन् । दक्षिण एसियामा अगानिस्तानपछि कोरोनाबाट बढी प्रभावित मुलुकको सूचीमा नेपाल छ । यसैगरी श्रीलंकामा एक हजार ८ सय १९ संक्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ । विश्वमा कोरोना भाइरसबाट हालसम्म ७० लाख भन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पनि ४ लाख १ हजार ८ सय बढी छन् । संक्रमित र मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा हालसम्म १९ लाख ३८ हजारभन्दा बढी संक्रमित छन् भने मृत्यु हुनेमा पनि १ लाख १० हजारभन्दा बढी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्