कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट २७ जना डिस्चार्ज

विराटनगर – कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाइरसमुक्त भएसँगै उदयपुरको भुल्के सङ्क्रमणको अन्त्य भएको छ ।
गत वैशाख ५ गते उदयपुरको त्रियुगा–३, भुल्केमा भेटिएका १२ जना सङ्क्रमितमध्ये बाँकी रहेका एक जनाको डिस्चार्ज भएसँगै भुल्के सङ्क्रमणको निदान भएको हो ।

विराटनगर–१७ घर भई भुल्केस्थित मस्जिदमा रहेको अवस्थामा जमाती समूहका ५७ वर्षीय कासिम मियाँले ४८ दिनपछि कोरोना भाइरसलाई परास्त गरेका हुन् । उनको डिस्चार्जसँगै भुल्के सङ्क्रमणको अन्त्य भएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।

डिस्चार्ज भएका २७ जनामध्ये उदयपुरका तीन जना रहेका छन् । भुल्केका यसअघि २७ जनाले कोरोना परास्त गरिसकेका छन् । अस्पतालमा एक महिलासहित दुई जना अझै उपचाररत रहे पनि जेठ ९ गतेपछि भुल्के क्षेत्रमा नयाँ सङ्क्रमित नभेटिएको हो ।

मन्त्री घिमिरेले कोरोना सङ्क्रमणको उद्गम थलो मानिएको भुल्केलाई कोरोनामुक्त बनाउन सफल बनाउनुका पछाडि कन्ट्याक्ट ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट प्रणाली रहेको बताए । उनले अहिले नै सङ्क्रमितलाई घरमा छोड्न सक्ने अवस्था नरहेकोले प्रदेश १ सरकारले १२ सय शय्याको आइसोलेसन अस्पताल तयार पारिरहेको बताए । पूर्वाञ्चल विश्वविद्यालयको गोठ गाउँस्थित मेडिकल कलेजलाई समेत बिहीबारदेखि सञ्चालनमा ल्याइएको मन्त्री घिमिरेले बताए ।

कोभिड–१९ उपचार केन्द्रबाट झापाका सात, मोरङका एक महिलासहित छ जना, सुनसरीका चार जना, धनकुटाका २ महिलासहित चार जना, खोटाङका एक जना र सप्तरीका २ जना डिस्चार्ज भएका हुन् । पछिल्लो लगातारको दोस्रो रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएपछि उहाँहरूलाई डिस्चार्ज गरिएको अस्पताल व्यवस्थापन प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
कोभिड–१९ उपचार केन्द्रमा उदयपुरका एक, झापाका ८, सोलु एक, सङ्खुवासभाका २ र मोरङका तीन जना गरी १५ जना उपचाररत रहेका छन् । बिहीबार मात्रै प्रदेश १ मा १६ जनामा कोरोना भाइरस पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २०१ पुगेको मन्त्री घिमिरेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्