नेपालमा डेङ्गु रोगको प्रकोप बढ्दै, पुष यता २६ जिल्लाका ८२ जनामा संक्रमण

काठमाडौं – नेपालमा कोभिड–१९को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोभिड–१९ को महामारीसँगै बर्खायाम शुरु भएकाले डेङ्गुको महामारीसमेत देखिन थालेको बताए ।

पानी जम्ने ठाउँमा लामखुट्टे बढ्ने भएकाले डेङ्गु रोग देखिन थालेको हो । डेङ्गु रोग वैशाखदेखि मङ्सिरसम्म देखिने गर्दछ । गत वर्ष नेपालका ६८ जिल्लामा १६ हजारमा डेङ्गु देखिएकामा छ जनाको मृत्यु भएको थियो । यसबर्ष गत पुषदेखि अहिलेसम्म २६ जिल्लाका ८२ जनामा डेङ्गु देखिएको छ । सबैभन्दा बढी रुपन्देही जिल्लामा ३५ जनामा देखिएको छ । डेङ्गु रोगको समयमा उपचार नगरे मृत्यु पनि हुन सक्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेंगु पनि कोरोना जस्तै भाइरसबाट हुने रोग हो ।

यसको कुनै औषधि (भ्याक्सिन) तयार भएको छैन । इपिडिमियोलोजी महाशाखाले डेंगु रोगबाट बच्नका लागि प्रदेश र स्थानीय तहमा डाइगोनोष्टिक परीक्षण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्