अस्पतालले भर्ना नगरेपछि संक्रमितलाई मन्दिरको हलमा राखियो

कैलाली – सेती प्रादेशिक अस्पतालले ५ जना कोरोना संक्रमतिलाई भर्ना गरेको छैन । मंगलबार राति अस्पताल पुर्याइएका गौरीगंगा नगरपालिकाका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरिगंगा नगरपालिकाका प्रमुख भिम देउवाले जानकारी दिए ।

अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ । अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको नगर प्रमुख देउवाले बताए ।

मंगलबार नै गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषहरुलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये २ जनालाई स्वास्थ्यमा समस्या देखिएको र अन्य ३ जना सामान्य रहेको देउवाले बताए । कोरोना संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले भर्ना नलिएपछि समस्यामा परेको उनी बताउँछन् ।

स्थानीय तहले नै आइसोलेसन वार्ड बनाएर उनीहरुलाई राख्ने तयारीमा जुटेको मेयर देउवाले बताए ।

सेती प्रादेशिक अस्पतालले भने शय्या अभावका कारण संक्रमितलाई राख्न नसकेको बताएको छ । ‘अस्पतालमा २४ शय्याको आइसोलेसन छ । हामीकहाँ २५ जना बिरामी भइसके । त्यसैले थप ४ जनालाई राख्न नसकेर फर्काएका हौँ,’ अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले भने । उनले स्थानीय तहले अस्पतालसँग समन्वय नगरेर संक्रमितलाई ल्याएको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्