काठमाडौं – चीनसँगको तातोपानी नाका अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका अनुसार आज केही मालवाहक गाडीको आवतजावत गराउने गरी नाका सञ्चालनको तयारी भइरहेको छ।
चाडपर्वका बेला वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले नाका अस्थायी रूपमा खोल्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ। लामो समयदेखि चिनियाँ पक्षको सुरक्षा चासो, बाढीपहिरो र सडक अवरोधका कारण बन्द रहेको नाका खोल्न चिनियाँ पक्ष सकारात्मक भएपछि तत्कालका लागि सञ्चालन गर्न लागिएको हो।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजदेखि पर्सि ३ गतेसम्म तीन दिन तातोपानी नाका सञ्चालन हुने जनाएको थियो। उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ। नेपाल–चीन व्यापारका लागि महत्त्वपूर्ण मानिने तातोपानी नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित नेपाल–चीन सीमामा पर्दछ। नाका अस्थायी रूपमा सञ्चालनमा आएपछि चाडपर्वका बेला आवश्यक वस्तु तथा सामग्रीको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।




