काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया सम्मेलन नेपालमा आयोजना हुने भएको छ। आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा आगामी नोभेम्बर १९ देखि २१ सम्म अर्थात् मङ्सिर ३ देखि ५ गतेसम्म सम्मेलन आयोजना गर्न लागेको हो।
क्यानका अनुसार सम्मेलनमा एसियाका टेस्ट खेल्ने राष्ट्र तथा एसोसिएट सदस्य देशका प्रतिनिधिसहित अन्तर्राष्ट्रिय क्रिकेट समुदायका सदस्यहरू सहभागी हुनेछन्। सम्मेलनमा क्रिकेटको विकास, क्षेत्रीय सहकार्य र एसियाली क्रिकेटलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ।
नेपालमा आईसीसीको एसिया सम्मेलन आयोजना हुनुलाई नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले अन्तर्राष्ट्रिय क्रिकेट जगत्मा नेपालको उपस्थिति थप बलियो बनाउनुका साथै खेलकुद पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने क्यानको अपेक्षा छ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरूले नेपाल प्रिमियर लिग (एनपीएल) का इलिमिनेटर र फाइनल खेलसमेत प्रत्यक्ष अवलोकन गर्नेछन्। यसले नेपाली फ्रेन्चाइज क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट समुदायमाझ चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।




