एकदिवसीय मान्यता जोगाउन नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमिरातमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। ओमानमा जारी शृङ्खलामा लगातार दुई खेल जितेको नेपालले ३४ खेलबाट २८ अङ्क जोडेको छ। लिग–२ को शीर्ष ६ मा रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालले बाँकी दुई खेलमध्ये कम्तीमा एउटा जित्नुपर्नेछ। अन्तिम खेलअघि नै शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित गर्न नेपालले आज क्यानडालाई हराउनुपर्नेछ।

आजको खेलमा पराजित भए नेपालमाथि अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने दबाब बढ्नेछ। नेपालले आज क्यानडा वा सोमबार हुने अन्तिम खेलमा ओमानमध्ये कुनै एक टोलीलाई पराजित गरे शीर्ष ६ मा आफ्नो स्थान पक्का गर्नेछ।

यता क्यानडाका लागि पनि आजको खेल महत्त्वपूर्ण छ। बिहीबार ओमानलाई ५८ रनले पराजित गरेको क्यानडाले ३५ खेलबाट २७ अङ्क जोडेको छ। शीर्ष ६ मा पर्ने सम्भावना कायम राख्न क्यानडाले पनि आज जित्नुपर्नेछ। आजको खेल क्यानडाका लागि लिग–२ अन्तर्गत अन्तिम खेल हो।

हालको अङ्कतालिकामा नेपाल छैटौँ, क्यानडा सातौँ र संयुक्त अरब इमिरेट्स (यूएई) आठौँ स्थानमा छन्। नेपालले लिग–२ शृङ्खलाको अन्तिम खेल सोमबार ओमानसँग खेल्नेछ। नेपालले सन् २०१८ मा जिम्बाब्वेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो। लिग–२ को शीर्ष ६ मा रहन सके नेपालले आफ्नो एकदिवसीय मान्यता जोगाउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्