काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। पछिल्लो विवरणअनुसार १ हजार २२९ मत गणना हुँदा खुला उपसभापतिमा चन्द्र भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले अग्रता लिनुभएको छ।
खुला उपसभापतिका दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा भण्डारीले ६४३ मत प्राप्त गर्नुभएको छ। इन्जिनियर मधु आचार्यले ३६२, गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्राध्यापक डा. चन्द्रमोहन यादवले १२९ मत पाउनुभएको छ।
समावेशी उपसभापतिको एक पदमा विनोद चौधरीले ३५७ मतसहित अग्रता लिनुभएको छ। जीवन परियारले ३००, फरमुल्लाह मन्सुरले १७७, सीता गुरुङले १५७ र रञ्जित कर्णले १०० मत प्राप्त गर्नुभएको छ।
खुला महामन्त्रीका दुई पदमा प्रदीप पौडेलले ७२३ मत प्राप्त गर्नुभएको छ भने अमरसिंह पुन मगरले ४५५ मत पाउनुभएको छ। त्यस्तै उदयशमशेर राणाले ४१२, सुनिल शर्माले ३०९, गुरुराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गर्नुभएको छ।
महिला महामन्त्रीको एक पदमा डिला संग्रौला र महालक्ष्मी उपाध्याय ‘डिना’बीच प्रतिस्पर्धा देखिएको छ। संग्रौलाले ५३६ मत प्राप्त गर्दा उपाध्यायले ५१३ मत पाउनुभएको छ। अर्की उम्मेदवार रीता खनालले १४७ मत प्राप्त गर्नुभएको छ।
अन्य पदको मतगणना भने सुरु भएको छैन। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।




