रुकुम (पश्चिम) घटनामा जनार्दनको शर्माको विज्ञप्तिः ‘सत्यतथ्यलाई बंग्याउने प्रयत्न भयो, दोषीमाथि कडा कारवाही होस्’

काठमाडौँ – नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पुनः माग गरेका छन् ।

रुकुम पश्चिमको निर्वाचित सांसद समेत रहेका शर्माले संघीय संसदमा त्यहाँको सम्पूर्ण विवरण राख्दै गर्दा केही सांसदहरुले होहल्ला गरी भनाइ राख्न अवरोध गरेको बताएका छन् । उनले आफूले घटनाको सत्यतथ्य सार्वजनिक होस् भनि छानबिनको माग गरेको तथ्यलाई बंग्याउने प्रयत्न भएको पनि बताएका छन् ।

‘मैले संसदमा त्यहाँको सम्पूर्ण विवरणसहित सभामुखसँग समयमागी बोल्न लाग्दा केही सांसदहरुले होहल्ला गरी मलाई बोल्न नदिने काम भयो । मैले मेरा सम्पूर्ण भनाइ राख्नबाट बन्चित भएँ’, उनले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ । सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्य तथ्य सार्वजनिक होस् भनि छानबिनको माग गरेको तथ्यलाई बंग्याउने काम भएको छ ।’ विज्ञप्तिमा लेखिएको छ ।
उनले आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो उद्देश्य नै उत्पीडित वर्गका पक्षमा खडा हुने भएको स्पष्ट पार्दै उनले अपराधीलाई कारबाहीको साथै राज्य पूर्ण उत्तरदायी भएर जानुपर्नेमा जोड दिएका छन् ।

उनले घटनाको छानबिनमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको भन्दै उच्चस्तरीय छानबिन संसदीय समिति बनाउन समेत माग गरेका छन् । जेठ १० गते साँझ रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा अन्तर्जातीय विवाहको विवादमा सो घटना भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्