काठमाडौँ – एकता व्यापार संघ नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित पीडितका लागि राहत सामग्री संकलन गरी नेपाल चेम्बर अफ कमर्सलाई हस्तान्तरण गरेको छ। संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा सल्लाहकारहरूको सक्रियतामा महाबौद्ध, न्युरोडलगायतका क्षेत्रमा रहेका पसल तथा व्यवसायीबाट राहत सामग्री संकलन गरिएको हो। संकलित सामग्री आइतबार नेपाल चेम्बर अफ कमर्सलाई हस्तान्तरण गरिएको संघले जनाएको छ।
संघका अनुसार राहत सामग्रीमा रेडिमेड कपडा ५७ बोरा, जुत्ता–चप्पल ११ कार्टुन, चिउरा १०० केजी, चाउचाउ, भुजा, नुनलगायतका अत्यावश्यक सामग्री रहेका छन्। बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्रीलाई प्राथमिकतामा राखेर राहत संकलन गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष तेजप्रसाद आचार्यले विपद्को समयमा व्यापारिक समुदायले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको सहयोगमा हातेमालो गर्नुपर्ने बताए। उनले संघले यसअघि पनि महामारी तथा विभिन्न प्राकृतिक विपद्का समयमा राहत तथा सहयोग संकलन गर्दै आएको स्मरण गरे। उनका अनुसार संघले विपद्का समयमा राहत संकलनका अतिरिक्त रक्तदानलगायतका सामाजिक सेवामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि आवश्यकता र अवस्थाअनुसार सहयोगलाई निरन्तरता दिने उनले बताए।
भोटेकोशी बाढीका कारण रसुवा तथा आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुगेपछि विभिन्न संघसंस्था, व्यवसायी तथा सामाजिक अभियन्ताहरूले राहत तथा उद्धारमा सहयोग गरिरहेका छन्। यही अभियानअन्तर्गत एकता व्यापार संघले पनि आफ्ना सदस्य तथा व्यवसायीबाट सामग्री जुटाएर पीडितसम्म पुर्याउने पहल गरेको हो।



