गगन थापा बाढी प्रभावित नुवाकोटमा, पीडितको गुनासो सुन्दै प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोट पुगेका छन् । सोमबार नुवाकोटको विदुर नगरपालिका–३ लगायत विभिन्न प्रभावित क्षेत्रमा पुगेर उनले बाढीपीडितको अवस्था तथा उनीहरूले भोगिरहेका समस्या र गुनासोबारे जानकारी लिएका छन् । विदुर नगरपालिका–३ का एक स्थानीयले सभापति थापासँग बाढीमा परेर सम्पर्कविहीन भएका व्यक्तिको खोज तथा उद्धारमा ढिलाइ भइरहेको गुनासो गरेका थिए । आफ्ना आफन्त बाढीमा बेपत्ता भएको र कतिपय व्यक्ति सुरुङभित्र थुनिएको अवस्थामा रहेको भन्दै उनले तत्काल खोज तथा उद्धारलाई तीव्रता दिन आग्रह गरेका थिए ।

थापाले प्रभावित क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै बाढीबाट भएको क्षति, उद्धारको अवस्था, राहत वितरण तथा तत्काल आवश्यक सहयोगबारे जानकारी लिएका थिए । स्थलगत निरीक्षणका क्रममा थापा त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वरी, पावर हाउस र टुप्चेसम्म पुगेका थिए । उनले बाढीपीडितसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका थिए ।

त्यस्तै, दर्शनटार, पिपलडाँडा, कुमलटार र कोलनीलगायतका क्षेत्रमा समेत पुगेर सभापति थापाले बाढीबाट प्रभावित नागरिकको अवस्था बुझेका थिए । बाढीपछि विस्थापित भएका तथा आफन्त बेपत्ता भएका परिवारसँग भेट गर्दै उनले उनीहरूका समस्या र तत्कालका आवश्यकताबारे जानकारी लिएको कांग्रेस नेता विजय ढुंगानाले जानकारी दिए । बाढीका कारण नुवाकोटसहित आसपासका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । प्रभावित क्षेत्रमा अझै पनि उद्धार, बेपत्ता व्यक्तिको खोजी, राहत वितरण तथा पुनःस्थापनाको काम चुनौतीपूर्ण बनेको छ । यस्तो अवस्थामा प्रभावित क्षेत्रमा पुगेर स्थानीयको वास्तविक अवस्था बुझ्ने र उनीहरूका गुनासा सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यले थापाले स्थलगत निरीक्षण गरेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्