काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै बीवाईडीको स्टल पनि अवलोकनकर्ताको विशेष चासोको केन्द्र बनेको छ। बीवाईडीले यसपटक नयाँ मोडल र अपग्रेडेड सवारीसाधनसहित आफ्नो विद्युतीय सवारी पोर्टफोलियो विस्तार गर्दै प्रदर्शनीमा राखेको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शोमा बीवाईडी एट्टो २ सुपेरियर, अपग्रेडेड सिलायन ७ र बहुप्रतीक्षित शार्क ६लाई विशेष रूपमा प्रस्तुत गरेको छ। यी मोडल हेर्न र तिनका विशेषताबारे जानकारी लिन अवलोकनकर्ताको चासो देखिएको छ। बीवाईडीको स्टल भृकुटीमण्डपस्थित हल नम्बर ४, स्टल जी१६ मा रहेको छ।
विशेषगरी एट्टो २ सुपेरियरलाई बीवाईडीले आफ्नो नयाँ आकर्षणका रूपमा प्रस्तुत गरेको छ। त्यस्तै, सिलायन ७मा गरिएको अपग्रेड र पहिलोपटक प्रदर्शनीमा राखिएको शार्क ६ले बीवाईडीको स्टललाई थप आकर्षक बनाएको छ। नाडा अटो शोमा बीवाईडीले नयाँ मोडल मात्र नभई आफ्ना विद्युतीय सवारीको विस्तारित लाइनअपमार्फत बजारमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरेको देखिन्छ। यस वर्षको नाडा अटो शोमा विद्युतीय सवारीसाधनलाई विशेष प्राथमिकता दिइएको छ। BYD, Geely, Aion, Great Wall Motors, Foton लगायतका चिनियाँ ब्रान्डसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय सवारी प्रदर्शनीमा राखिएका छन्। आयोजकका अनुसार यसपटकको प्रदर्शनीमा ५० भन्दा बढी ब्रान्ड सहभागी छन् र २०० भन्दा बढी स्टलमा सवारीसाधन, अटो पार्ट्स, वित्तीय सेवा तथा नयाँ प्रविधि प्रदर्शन गरिएको छ।
नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको अवस्थामा नाडा अटो शोले उपभोक्तालाई विभिन्न ब्रान्ड र मोडलको प्रत्यक्ष तुलना गर्ने अवसर दिएको छ। बीवाईडीका प्रतिनिधिहरूका अनुसार नेपालमा चार्जिङ पूर्वाधारमा पछिल्ला वर्षमा उल्लेख्य सुधार भएको छ भने कम्पनीले नेपालमै ब्याट्री मर्मत केन्द्र स्थापना गर्ने तयारीसमेत गरिरहेको छ। यसले बीवाईडीको चासो केवल सवारी बिक्रीमा मात्र सीमित नभई ब्याट्री व्यवस्थापन, मर्मत तथा विद्युतीय सवारीको दीर्घकालीन इकोसिस्टम निर्माणतर्फ समेत केन्द्रित रहेको देखाएको छ।
नाडा अटो शो आगामी भदौ १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदैछ। प्रदर्शनीमा आएका नयाँ विद्युतीय मोडल, प्रविधि र आकर्षक अफरका कारण अटोप्रेमी तथा सम्भावित ग्राहकको चासो बढिरहेको छ।



