काठमाडौं – वैदिक सनातन धर्मावलम्बीको महत्वपूर्ण पर्व जनैपूर्णिमा अर्थात् ऋषितर्पणी तथा रक्षाबन्धन आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा बिहानैदेखि नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र बाँध्ने तथा नयाँ जनै धारण गर्ने प्रचलन छ । जनैपूर्णिमाका अवसरमा तागाधारी समुदायले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत (जनै) फेर्ने गर्छन् । धार्मिक मान्यताअनुसार जप, तप तथा पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो ब्राह्मण पुरोहितले वैदिक मन्त्रोच्चारणसहित यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यसले नकारात्मक तत्वबाट सुरक्षा प्रदान गर्ने धार्मिक विश्वास छ ।
आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्यलगायत तागाधारीले जनै परिवर्तन गर्ने परम्परा छ । पूर्णिमाका दिन बिहानै स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण दिएपछि वैदिक विधिअनुसार मन्त्रिएको नयाँ जनै धारण गरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा तथा तर्पण गरिने भएकाले जनैपूर्णिमालाई ऋषितर्पणी समेत भन्ने गरिन्छ । वैदिक गुरु परम्परामा यज्ञोपवीतलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा समेत लिइन्छ । जनैपूर्णिमाका अवसरमा पशुपतिनाथ मन्दिर, वसन्तपुरस्थित अशोकविनायकलगायत काठमाडौं उपत्यकाका विभिन्न मठमन्दिर तथा धार्मिकस्थलमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ । देशका विभिन्न नदी, ताल, कुण्ड तथा तीर्थस्थलमा समेत विशेष मेला लाग्ने गर्दछ ।
यस पर्वमा क्वाँटी खाने परम्परा पनि रहेको छ । विभिन्न ११ प्रकारका गेडागुडी भिजाएर टुसा उमारेर तयार पारिएको क्वाँटीको रस खाने चलन छ । वर्षायाममा क्वाँटी खाँदा शरीरमा ऊर्जा प्राप्त हुने, पाचन प्रणालीलाई फाइदा पुग्ने तथा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ । तराई क्षेत्रमा भने जनैपूर्णिमालाई राखी तथा रक्षाबन्धनका रूपमा विशेष महत्वका साथ मनाइन्छ । दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु तथा सुख-समृद्धिको कामना गर्ने गर्छन् । पछिल्लो समय यो परम्परा पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै गएको छ ।
जनैपूर्णिमाका अवसरमा काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधाम, धनुषसागर, गंगासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायतका धार्मिक तथा पर्यटकीयस्थलमा बिहानैदेखि विशेष मेला तथा धार्मिक गतिविधि भइरहेका छन् । जनैपूर्णिमाले धार्मिक आस्था, वैदिक परम्परा र संस्कृतिको संरक्षणसँगै दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र सामाजिक सद्भावलाई समेत थप बलियो बनाउने विश्वास गरिन्छ ।



