भोटेकोसी बाढी : ५३८ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन

तस्बिरः रामहरि न्यौपाने/रासस

 

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले शुक्रबार दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी (पूर्व)मा १३४, नवलपरासी (पश्चिम)मा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन्।

प्राधिकरणका अनुसार गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश छन्।

९७७ जना सम्पर्कविहीन

बाढीपछि अझै ९७७ जना सम्पर्कविहीन रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिएकी छन्।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका चार जना रहेका छन्।

त्यस्तै, रसुवाका १६१ र नुवाकोटका एक जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। मकवानपुरबाट ६६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

यसैगरी बाढीका कारण ५१७ जना विदेशी नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

७३ जना घाइते

भोटेकोसी बाढीका कारण हालसम्म ७३ जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ। घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेका छन्।

बाढीपछि ठूलो जनधनको क्षति भएका क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ। ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले मृतक तथा बेपत्ताको संख्या थप परिवर्तन हुन सक्ने देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्