काठमाडौं – विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई अमेरिकाले आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै आवश्यक सबै प्रकारको सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।
नेपालमा आएको भीषण बाढी तथा पहिरोमा परी हालसम्म करिब ४०० जनाको मृत्यु पुष्टि भइसकेको छ भने झन्डै एक हजार मानिस बेपत्ता रहेको बताइएको छ । विपद्का कारण ठूला तथा मजबुत भवनसमेत बाढीको चपेटामा परी ध्वस्त भएका छन् । राष्ट्रपति ट्रम्पले नेपाल सरकारसँग सम्पर्क गरी सहयोगको प्रस्ताव गरिएको बताउनुभएको छ । उहाँले विपद्को भयावह अवस्थाबारे चर्चा गर्दै नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताउनुभएको हो ।
ट्रम्पका अनुसार नेपालमा बाढीको प्रभाव अत्यन्तै शक्तिशाली देखिएको छ । उहाँले मजबुत संरचनासमेत बाढीले बगाएको उल्लेख गर्दै घटनालाई निकै भयावह भएको बताउनुभएको छ । यसैबीच, अमेरिकी अधिकारीहरूले विपद् प्रभावित क्षेत्रमा रहेका दर्जनौँ अमेरिकी नागरिकको अवस्था तथा सुरक्षाबारे जानकारी लिने प्रयास गरिरहेका छन् । उनीहरूको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाइएको छ ।
नेपालमा विपद्को प्रभाव बढ्दै गएपछि विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय समुदायले नेपालप्रति ऐक्यबद्धता जनाउँदै उद्धार, राहत तथा मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । अमेरिकाको पछिल्लो घोषणाले विपद्पछिको उद्धार तथा राहत अभियानमा थप अन्तर्राष्ट्रिय सहयोग जुट्ने अपेक्षा गरिएको छ ।



