विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित

File Photo Pic: Kiran Bist/RSS

काठमाडौं – प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिनुभएको हो । मन्त्रीको निर्देशनअनुसार भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्नुपर्नेछ । स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न विश्वविद्यालयहरूलाई भनिएको छ । त्यसैगरी, भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्न समेत निर्देशन दिइएको छ । पुनः परीक्षाको मिति तथा आवश्यक व्यवस्था विश्वविद्यालयहरूले उपयुक्त समयमा तय गर्नुपर्नेछ ।

विपद्को वर्तमान अवस्थालाई ध्यानमा राख्दै मन्त्री पोखरेलले अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत स्थगित गर्न विश्वविद्यालयहरूलाई अनुरोध गर्नुभएको छ । विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क तथा समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ । प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न तथा विपद्का कारण अध्ययनमा परेको असरलाई मध्यनजर गर्दै विद्यार्थीको शैक्षिक निरन्तरता कायम राख्न आवश्यक व्यवस्था मिलाउनसमेत विश्वविद्यालयहरूलाई भनिएको छ ।

मन्त्री पोखरेलले वर्तमान संवेदनशील परिस्थितिमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिन विश्वविद्यालयका पदाधिकारीहरूलाई आग्रह गर्नुभएको छ । सरकारले विपद्का कारण शैक्षिक गतिविधिमा परेको असरलाई ध्यानमा राख्दै तत्कालका लागि परीक्षा स्थगनसहित विद्यार्थीको सुरक्षा, राहत तथा शैक्षिक निरन्तरताका विषयमा आवश्यक सहजीकरण गर्न विश्वविद्यालयहरूलाई निर्देशन दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्