बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवार चयन पेचिलो

 

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई आउँदो बिहीबार भाद्र ४ गते दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहमतिअनुसार अब बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ। तर, सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन भने गठबन्धनलाई थप सांसदको समर्थन आवश्यक देखिएको छ।

१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ सांसद आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ गरी गठबन्धनसँग हाल ५१ सांसद छन्। त्यसैले सरकार गठनका लागि थप दुई सांसदको समर्थन जुटाउनुपर्ने अवस्था छ।

यसैबीच, एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवार चयन भने पेचिलो बनेको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध आफ्नै दलका १६ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्दै किरण थापा मगरलाई संसदीय दलको नेता बनाउन माग गरेका छन्।

दलभित्रै नेतृत्व परिवर्तनको माग उठेपछि एमालेले संसदीय दलको बैठक बोलाएर विवाद समाधान गर्ने तयारी गरेको छ। संसदीय दलको नेतृत्वसम्बन्धी विवाद टुंगिएपछि मात्रै एमालेले मुख्यमन्त्रीको उम्मेदवार औपचारिक रूपमा तय गर्ने बताइएको छ।

यससँगै बागमतीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमाभित्र गठबन्धनले आवश्यक बहुमत जुटाउने र एमालेले आन्तरिक नेतृत्व विवाद समाधान गर्ने चुनौती देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्