काठमाडौं । न्युजिल्यान्डका तीव्र गतिका बलर स्कट कुगेलेइनलाई सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पनि निरन्तरता दिने भएको छ।
सुदूरपश्चिमले यसअघि इंग्ल्यान्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको थियो। कुगेलेइनलाई भने टोलीले दोस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो। उनी एनपीएलका अघिल्ला दुई सिजनमा पनि सुदूरपश्चिमबाटै खेलेका थिए।
कुगेलेइनले एनपीएलको पहिलो सिजनमा १७ विकेट तथा दोस्रो सिजनमा १० विकेट लिएका थिए। टोलीमा पुनः फर्किन पाउँदा आफू उत्साहित रहेको कुगेलेइनले बताएका छन्।
सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेइनबाट अघिल्ला सिजनमा जस्तै प्रभावकारी प्रदर्शनको अपेक्षा गरिएको बताएका छन्।
तेस्रो संस्करणका लागि सुदूरपश्चिमले कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई टोलीमै कायम राखेको छ।
त्यस्तै, टोलीले अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुव चन्दलाई अनुबन्ध गरेको छ।



