भारतीय प्रधानसेनापति धीरज सेठ आज नेपाल आउँदै

 

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ चारदिने नेपाल भ्रमणका लागि आज अपराह्न काठमाडौं आउनुहुने भएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुनेछ ।

भोलि नै प्रधानसेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष सेठबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । वार्तामा नेपाल–भारतबीचको सैन्य सम्बन्ध, आपसी सहयोग तथा दुई देशका सेनाबीच हुँदै आएका सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि कायम रहेको घनिष्ठ तथा ऐतिहासिक सम्बन्धमध्ये एक हो । दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ ।

विशेषगरी दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले नेपाल–भारत सेनाबीचको विशेष सम्बन्धलाई प्रतिबिम्बित गर्दै आएको छ ।

नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो । यसलाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सम्मान र सैन्य सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्