भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

 

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुग्नुभएको छ । उहाँलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भारतीय प्रधानसेनापति सेठ काठमाडौं आइपुग्नुभएको पुष्टि गर्नुभयो ।

प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेयता भारतबाट नेपाल भ्रमणमा आउने उहाँ अहिलेसम्मकै वरिष्ठ अधिकारी हुनुहुन्छ । प्रधानसेनापति सेठले नेपालको भ्रमणबाट आफ्नो पहिलो विदेश भ्रमणसमेत सुरु गर्नुभएको हो ।

काठमाडौं बसाइका क्रममा उहाँले रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले सैनिक मञ्च टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रधानसेनापति सिग्देलसँग आपसी सहयोगका विषयमा द्विपक्षीय छलफल गर्ने तयारी छ ।

सन् २०२६ जुन ३० मा भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुनेछ ।

भारतीय प्रधानसेनापतिलाई नेपालको र नेपाली प्रधानसेनापतिलाई भारतको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि चल्दै आएको छ । यसलाई नेपाल–भारतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सैन्य सम्बन्धको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ ।

नेपाली सेनाका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसक्नुभएको छ । २७ मंसिर २०८१ मा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्