काठमाडौं – सरकारले घरायसी विद्युत् उपभोक्तालाई राहत दिने उद्देश्यले विद्युत् महसुलमा ५ प्रतिशत भ्याट नलाग्ने सीमा ५० युनिटबाट बढाएर १५० युनिट पुर्याउने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताबाट ५ प्रतिशत भ्याट उठाउने व्यवस्था गरिएको भए पनि अहिले उक्त सीमा बढाउने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयबीच गृहकार्य भइरहेको छ।
ऊर्जा मन्त्रालय स्रोतका अनुसार १५० युनिटसम्म भ्याट छुट दिने प्रस्तावबारे अर्थ मन्त्रालयसँग अनौपचारिक छलफल अघि बढिसकेको छ। अर्थ मन्त्रालयले पनि यस विषयमा प्रारम्भिक गृहकार्य भइरहेको पुष्टि गरेको छ। यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित विद्युत् महसुल पुनरावलोकन समितिले पनि उपभोक्तालाई राहत दिने विकल्पबारे अध्ययन गरेको थियो। शाहीका अनुसार सस्तो विद्युत् उपलब्ध गराउँदा खपत बढ्ने र त्यसले समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्ने निष्कर्षका आधारमा भ्याट छुटको सीमा बढाउने प्रयास भइरहेको हो।
प्रारम्भिक अध्ययनअनुसार १५० युनिटसम्म भ्याट छुट दिँदा वार्षिक करिब २ अर्ब २ करोड रुपैयाँ राजस्व घट्ने अनुमान गरिएको छ। हाल ५० युनिटसम्म छुट हुँदा ३४ लाखभन्दा बढी घरेलु उपभोक्ता भ्याटमुक्त छन् भने सीमा १५० युनिट पुगेमा करिब ४६ लाख ९२ हजार घरेलु उपभोक्ता भ्याटमुक्त हुनेछन्। सरकारले साउन १ गतेदेखि लागू हुने गरी ५० युनिटभन्दा माथिको खपतमा ५ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको थियो। तर नेपाल विद्युत् प्राधिकरणले असार महिनाकै खपतमा भ्याट जोडेर बिल पठाएपछि विरोध भएको थियो। त्यसपछि प्राधिकरणले साउन महिनाको खपतमा मात्रै भदौदेखि भ्याट लागू हुने स्पष्ट पारेको थियो।



