काठमाडौं – नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभावबारे सरोकारवाला निकाय र व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको छलफलमा ग्यास अभावको कारण, आपूर्ति व्यवस्थापन तथा समाधानका उपायबारे सम्बन्धित मन्त्रालय, विभाग, ग्यास उद्योगी र वितरकसँग विस्तृत छलफल भएको हो।
छलफलमा व्यवसायीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभएको दाबी गर्दै ७.१ किलोग्रामको आधा सिलिन्डर वितरण बन्द गरी पुनः १४.२ किलोग्रामको पूरा सिलिन्डर वितरण सुरु भएपछि एकैपटक माग बढेकाले अभाव देखिएको बताएका छन्। मुख्य सचिव कार्कीले ग्यास आपूर्तिको दीर्घकालीन समाधानका लागि सरोकारवालासँग निरन्तर छलफल गर्दै आवश्यक नीति तथा व्यवस्थापनलाई अघि बढाइने बताउनुभयो।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार उद्योगीहरूले पहिलेभन्दा बढी ग्यास आयात गरिरहेका भए पनि उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेकाले समस्या देखिएको हो। उहाँले विगत ६ महिनामा नियमित आवश्यकताभन्दा करिब ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएको र लामो समय आधा सिलिन्डर प्रयोग गरिएकाले उपभोक्तामा अभावको मनोविज्ञान बनेको उल्लेख गर्नुभयो। चाडपर्वलाई लक्षित गर्दै बैठकले आगामी तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। साथै, ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लामा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायबीच समन्वयलाई तीव्र बनाउने निर्णय पनि गरिएको छ।
उद्योग सङ्घका अनुसार अप्रिलमा ५१ हजार २८२ मेट्रिक टनको कोटामध्ये ३४ हजार ८१ मेट्रिक टन र मे महिनामा ४९ हजार ५०० मेट्रिक टनको कोटामध्ये २८ हजार ५०४ मेट्रिक टन मात्रै ग्यास आयात भएकाले अहिलेको आपूर्ति व्यवस्थामा दबाब परेको हो।



