काठमाडौं । राहदानी ऐनअन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार जर्मनी जाने भिसाका लागि काठमाडौंस्थित जर्मन राजदूतावासमा पेस गरिएको यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) माथि शंका उत्पन्न भएपछि राजदूतावासले उक्त कागजात अनुसन्धानका लागि सीआईबीलाई पठाएको थियो।
अनुसन्धानका क्रममा तत्कालीन समयमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा शाखा अधिकृत रहेका भट्टराईको यात्रा अनुमति पत्र जारी गर्ने प्रक्रियामा संलग्नता देखिएको सीआईबीले जनाएको छ। हाल उनी परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखामा सहसचिवका रूपमा कार्यरत छन्।
सीआईबीले अनुसन्धान पूरा गरी गत साउन ११ गते जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा भट्टराईविरुद्ध अभियोगपत्र दायर गरेको थियो।
अदालतमा प्रतिवादी कायम भएका भट्टराईलाई सोमबार काठमाडौं महानगरपालिका–त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ।



