काठमाडौं । नेपाली कांग्रेसले सुनसरी र मधेसका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठनको माग गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभामार्फत न्यायिक समिति गठनको माग गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गृह मन्त्रालयले गठन गरेको समितिले यस्ता गम्भीर घटनाको निष्पक्ष छानबिन गर्न नसक्ने भएकाले स्वतन्त्र र न्यायिक समिति आवश्यक रहेको बताए।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनामा तीन जनाको मृत्यु हुनुका साथै थुप्रै व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गर्दै सरकारले निष्पक्ष छानबिनका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गरे। उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिए।
आङ्देम्बेका अनुसार कांग्रेसले न्यायिक समिति गठनको मागमा अन्य प्रतिपक्षी दलहरूको समेत साथ र सहयोग लिनेछ।



