काठमाडौं । अमेरिकी सरकारले विद्यार्थी भिसाको दुरुपयोग रोक्न र राष्ट्रिय सुरक्षा सुदृढ बनाउन ‘एफ’ र ‘जे’ श्रेणीका विद्यार्थी भिसासम्बन्धी नयाँ नियम आगामी सेप्टेम्बर १७ देखि लागू गर्ने भएको छ। नयाँ व्यवस्था हाल अमेरिकामा अध्ययनरत विद्यार्थीहरूमा पनि लागू हुनेछ।
नयाँ नियमअनुसार विद्यार्थीले अध्ययनका लागि अमेरिकामा बस्न पाउने अवधि अधिकतम चार वर्षसम्म सीमित हुनेछ भने अध्ययन पूरा भएपछि अमेरिका छाड्न पाउने समय ६० दिनबाट घटाएर ३० दिन कायम गरिएको छ। कलेज वा अध्ययन कार्यक्रम परिवर्तन गर्न पनि अब होमल्यान्ड सेक्युरिटीको स्वीकृति आवश्यक पर्नेछ।
कानुन व्यवसायी बासु फुलाराका अनुसार एउटै तहमा पटक–पटक अध्ययन गर्ने, कलेज परिवर्तन गर्दै बसाइँ लम्ब्याउने वा विद्यार्थी भिसाको दुरुपयोग गर्ने अभ्यासमा अब कडाइ गरिनेछ। अध्ययन अवधि थप्नुपर्ने अवस्था आएमा समय सकिनुअघि नै उचित कारणसहित स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। सरकारले विद्यार्थी भिसाको दुरुपयोग नियन्त्रण गर्न यो नयाँ नीति कार्यान्वयन गर्न लागेको जनाएको छ।



