काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर एकै दिनमा सत्ता परिवर्तन गर्ने गरी आन्दोलनमा उत्रिन आह्वान गरेका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले प्रतिक्रान्तिको प्रक्रिया अझै समाप्त नभएकाले त्यसलाई परास्त गर्न साझा न्यूनतम कार्यक्रम बनाएर देशव्यापी रूपमा आन्दोलन गर्नुपर्ने बताए। संसद्, निर्वाचन र सडक संघर्षलाई एकसाथ अघि बढाउँदै आवश्यक परे काठमाडौं र जिल्ला सदरमुकाममा लाखौं कार्यकर्ता उतारेर सत्ता परिवर्तन सम्भव रहेको उनको भनाइ थियो।
प्रचण्डले अहिले तत्काल सबै वामपन्थी दल एउटै पार्टी बन्ने अवस्था नरहे पनि कार्यगत एकता र सहकार्यमा ढिलाइ गर्न नहुने उल्लेख गरे। इमानदार सहकार्यबाट भविष्यमा पार्टी एकीकरणको आधार तयार हुने उनको भनाइ थियो। साथै, सरकार बनाउने–गिराउने खेलमा मात्र केन्द्रित भए अर्को प्रतिक्रान्तिको जोखिम बढ्ने चेतावनी पनि उनले दिए।



