काठमाडौं – नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य थप विस्तार गर्ने सहमति भएको छ। दुवै देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकले नेपालबाट भारततर्फ १ हजार ६५० मेगावाटसम्म विद्युत् निर्यात गर्ने विषयमा सहमति जनाएको हो। पोखरामा सम्पन्न बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारतको विद्युत् मन्त्रालयका सचिव पङ्कज अग्रवालले संयुक्त रूपमा अध्यक्षता गरेका थिए।
बैठकले हाल सञ्चालनमा रहेका ढल्केबर–मुजफ्फरपुर तथा ढल्केबर–सीतामढी अन्तरदेशीय प्रसारण लाइनमार्फत १ हजार ४०० मेगावाट विद्युत् आदानप्रदान गर्ने व्यवस्था कायम राख्ने निर्णय गरेको छ। साथै, विद्युत् निर्यातको सीमा हालको १ हजार १०० मेगावाटबाट बढाएर १ हजार ६५० मेगावाट पुर्याउने सहमति भएको ऊर्जा मन्त्रालयले जनाएको छ। यसैगरी, चमेलिया–जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि बैठकले स्वीकृत गरेको छ। उक्त आयोजना सन् २०२८ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।
बैठकमा न्यू पुर्निया-दोदोधारा/बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको छ। साथै, मोतिहारी-निजगढ र लखनउ-कोहलपुर ४०० केभी प्रसारण लाइन सम्बन्धमा थप प्राविधिक अध्ययन गर्ने निर्णय पनि गरिएको छ। यस्तै, निर्माणाधीन नयाँ बुटवल-गोरखपुर ४०० केभी प्रसारण लाइनलाई प्रारम्भिक चरणमा २२० केभी क्षमतामा सञ्चालन गर्ने प्राविधिक समझदारी दुवै पक्षबीच भएको मन्त्रालयले जनाएको छ।
नेपाल र भारतबीच भएको यस सहमतिले सीमापार विद्युत् व्यापारलाई थप विस्तार गर्दै नेपालको ऊर्जा निर्यात क्षमता र विद्युत् पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




