काठमाडौँ – साबिक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान बनाएको छ। अमेरिकाको एटलान्टा रङ्गशालामा बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो।
खेलको पहिलो हाफ दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक रह्यो। आक्रामक खेल र कडा ट्याकलका कारण रेफ्रीले पटक–पटक हस्तक्षेप गर्नुपरेको थियो। पहिलो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल हुन सकेन। दोस्रो हाफको ५५औँ मिनेटमा मोर्गन रोजर्सको आकर्षक क्रसलाई एन्थोनी गोर्डनले सदुपयोग गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। त्यसपछि इंग्ल्यान्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गर्यो। तर अर्जेन्टिनाले लगातार दबाब सिर्जना गर्दै खेलमा पुनरागमन गर्यो।
खेलको ८५औँ मिनेटमा कप्तान लियोनल मेसीको उत्कृष्ट पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। त्यसपछि थपिएको अतिरिक्त समयको दोस्रो मिनेटमा फेरि मेसीकै पासमा लाउटारो मार्टिनेजले हेडमार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए।
यो जितसँगै अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुगेको छ भने लगातार दोस्रो संस्करणमा उपाधि भिडन्त खेल्ने अवसर बनाएको छ। पराजित इंग्ल्यान्ड भने लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलबाट बाहिरिएको छ। अब विश्वकप २०२६ को उपाधिका लागि अर्जेन्टिनाले साउन ४ गते बिहान पौने १ बजे स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो स्थानका लागि भने साउन ३ गते बिहान पौने ३ बजे इंग्ल्यान्ड र फ्रान्स आमनेसामने हुनेछन्।




