काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले यस्तो निर्णय गरेको हो।
बिहीबार बसेको एमाले संसदीय दलको बैठकले साँझ ५ बजेदेखि लागू हुने गरी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले मुख्यमन्त्री शाहले व्यक्तिकेन्द्रित अहंकारका आधारमा निर्णय गरेको आरोप लगाए। सरकार सञ्चालनमा सहकार्यको भावना नदेखाई एकपक्षीय ढंगले अघि बढेको उनको भनाइ थियो।
रावलले प्रदेश बजेट निर्माणमा पनि मुख्यमन्त्रीले एकलौटी गरेको आरोप लगाए। उनले करिब ५ अर्ब रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको दाबी गर्दै बजेट वितरणमा असन्तुलन भएको बताए।
उनले कांग्रेस–एमालेबीचको राजनीतिक समझदारीका आधारमा सरकार गठन भएको भए पनि त्यसको भावना र मर्मलाई मुख्यमन्त्री शाहले पालना नगरेको आरोप लगाए।
‘हामीले पटक–पटक उहाँलाई बुझाउने प्रयास गर्यौं। दुवै दलको कार्यदल बसेर छलफल गर्यो र प्रतिवेदन पनि बुझायो। तर ती सबै सुझावलाई मुख्यमन्त्रीले अस्वीकार गर्नुभयो,’ रावलले भने।
एमालेले समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिम प्रदेश सरकारको आगामी राजनीतिक समीकरण र मुख्यमन्त्री शाहको विश्वासको मतको विषय चर्चामा आएको छ।




