काठमाडौं । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मंगलबार मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन्। मन्त्री सुरेश अधिकारीका अनुसार बिहान बसेको मन्त्रिपरिषद् बैठकमै चारै जनाले संयुक्त रूपमा राजीनामा पत्र पेश गरेका हुन् भने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पनि राजीनामा स्वीकृतिको प्रतीक्षामा रहेको बताएका छन्। स्वास्थ्य उपचारका लागि हाल बैंककमा रहेका आर्थिक मामिला मन्त्री राजीवविक्रम शाहले भने विदेश जानुअघि नै आफ्नो राजीनामा संसदीय दलका नेता जीवनबहादुर शाहीमार्फत बुझाएको जानकारी दिएका छन्।
कांग्रेसले सरकारबाट बाहिरिने निर्णयको मुख्य कारण सरकार गठनका क्रममा भएको आलोपालो नेतृत्वको सहमति कार्यान्वयन नभएको जनाएको छ। मन्त्री अधिकारीका अनुसार एमालेसँग भएको सहमतिअनुसार निश्चित अवधिपछि सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण हुनुपर्ने भए पनि त्यसमा इमान्दारिता नदेखाइएकाले सरकारबाट बाहिरिने निर्णय गरिएको हो। एमाले नेता यामलाल कँडेल २०८० चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि केन्द्रमा राजनीतिक समीकरण परिवर्तन भएसँगै कांग्रेस–एमाले गठबन्धन बनेको थियो र २०८१ साउनदेखि कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो। कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामासँगै कर्णाली प्रदेशको सत्ता समीकरण फेरि परिवर्तनको चरणमा प्रवेश गरेको छ।




