नेपाललाई सिधै ग्लोबल क्वालिफायरको अवसर

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप र एकदिवसीय विश्वकपका लागि नयाँ प्रतियोगिता ढाँचा अनुमोदन गरेसँगै नेपालले सन् २०२८ को टी–२० विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायर खेल्ने अवसर पाएको छ।

स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसी बोर्ड बैठकले स्वीकृत गरेको नयाँ व्यवस्थाअनुसार सन् २०२६ को टी–२० विश्वकपमा सहभागी भए पनि स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीहरूले सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्। यस व्यवस्थाबाट नेपाललाई क्षेत्रीय छनोटको प्रारम्भिक चरण खेल्नुपर्ने बाध्यता हटेको छ।

यस्तै, स्कटल्यान्डले भने सन् २०२६ को विश्वकप प्रदर्शनका आधारमा युरोप क्षेत्रीय छनोटको फाइनल चरणमा सिधै स्थान बनाउने भएको छ।

आईसीसीका अनुसार ग्लोबल क्वालिफायरका बाँकी आठ स्थान अफ्रिका, एशिया र युरोपबाट दुई–दुई टोली तथा अमेरिका र पूर्वी एशिया–प्रशान्त क्षेत्रबाट एक–एक टोली छनोट भएर पूरा हुनेछन्। ग्लोबल क्वालिफायरबाट प्रत्येक समूहको शीर्ष टोलीसँगै समग्र प्रदर्शनका आधारमा अन्य तीन उत्कृष्ट टोली गरी आठ राष्ट्र सन् २०२८ को टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

आईसीसीले टी–२० विश्वकपको संरचनामा पनि परिवर्तन गरेको छ। अब २० टोलीलाई चार समूहको सट्टा पाँच समूहमा विभाजन गरिनेछ, जहाँ प्रत्येक समूहमा चार टोली रहनेछन्।

यसअघि प्रयोग हुँदै आएको ‘सुपर एट’ चरणलाई हटाएर ‘सुपर टेन’ प्रणाली लागू गरिने भएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली ‘सुपर टेन’ मा पुग्नेछन्, जहाँ उनीहरूलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष टोली सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन् भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले ‘एलिमिनेटर’ खेल्दै सेमिफाइनलको बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

एकदिवसीय विश्वकपको ढाँचामा पनि व्यापक परिवर्तन गरिएको छ। अब १४ टोली सहभागी हुने प्रतियोगितामा पहिलो चरणमा पुछारका तीन टोलीबीच ‘सुपर सिरिज’ हुनेछ, जसको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ।

दोस्रो चरणमा १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष तीन टोली र समग्रमा अर्को एक उत्कृष्ट टोली गरी सात टोली ‘सुपर सेभेन’ मा पुग्नेछन्। ‘सुपर सेभेन’ चरणमा सातै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्, जहाँ शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन्।

यसअघि भने १४ टोलीलाई दुई समूहमा विभाजन गरी शीर्ष तीन–तीन टोली ‘सुपर सिक्स’ मा पुग्ने व्यवस्था थियो। नयाँ ढाँचाले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने आईसीसीको अपेक्षा छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्