स्पेनको शानदार जित, फ्रान्सको लगातार तेस्रो विश्वकप फाइनल खेल्ने सपना चकनाचुर

काठमाडौँ – स्पेनले साविक उपविजेता तथा उपाधि दाबेदार फ्रान्सलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको आर्लिङ्टनस्थित डलास स्टेडियममा मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै फ्रान्सको लगातार तेस्रो विश्वकप फाइनल खेल्ने सपना समाप्त पारिदिएको हो।

स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले खेलको २२औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए। लमिन यामालमाथि फ्रान्सका रक्षकले फाउल गरेपछि प्राप्त अवसरलाई ओयारजाबालले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।

दोस्रो हाफमा पनि स्पेनले खेलमाथिको नियन्त्रण कायम राख्यो। ५८औँ मिनेटमा दानी ओल्मोसँगको उत्कृष्ट संयोजनपछि पेड्रो पोरोले आकर्षक गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि स्पेनको अनुशासित रक्षापङ्क्ति र गोलरक्षक उनाइ सिमोनको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन सकेन।

विश्व फुटबलका चर्चित स्टार किलियन एमबाप्पे, उसमान डेम्बेले र माइकल ओलिसे सम्मिलित फ्रान्सेली आक्रमणपङ्क्तिलाई स्पेनले प्रभावहीन बनायो। पूरै खेलभर फ्रान्सले स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गर्नुपर्‍यो भने स्पेनले बल नियन्त्रण, मिडफिल्ड र रक्षामा पूर्ण प्रभुत्व जमायो। यससँगै स्पेन सन् २०१० पछि पहिलोपटक विश्वकपको फाइनलमा पुगेको छ। युरोपियन च्याम्पियन स्पेनले अब उपाधिका लागि इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उता फ्रान्स भने तेस्रो स्थानका लागि हुने खेलमा सीमित भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्