आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, देशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। देशका पहाडी तथा तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान तथा डुबान हुन सक्ने क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्