काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न साझा राष्ट्रिय दृष्टि र कार्ययोजना निर्माण आवश्यक रहेको निष्कर्ष निकालेको छ। उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको बैठकले सुकुमबासी समस्या कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राजनीतिक दलहरूको साझा जिम्मेवारी भएको उल्लेख गर्दै राष्ट्रिय सहमतिका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिएको हो।
बैठकले निर्वाचनका क्रममा सबै राजनीतिक दलले सुकुमबासी समस्याको स्थायी समाधान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै निर्वाचनपछि सरकारको व्यवहार लोकतान्त्रिक मूल्य–मान्यता र मानवीय संवेदनासँग मेल नखाने भन्दै आपत्ति जनाएको छ। प्रतिष्ठानले पछिल्लो समय सरकारको कार्यशैलीका कारण समस्या थप जटिल बनेको उल्लेख गर्दै सरकार, सत्तापक्ष, प्रतिपक्ष तथा सरोकारवाला सबै पक्षबीच साझा दृष्टिकोण र साझा कार्ययोजना निर्माण गर्नुपर्ने जनाएको छ। यही उद्देश्यले संसद्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरी व्यापक छलफल अघि बढाउन नेपाली कांग्रेस संसदीय दललाई आग्रह गर्ने निर्णय गरिएको छ।
यसैबीच, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि अन्तरपार्टी संवादलाई प्रभावकारी बनाउन केन्द्रीय सदस्य तथा भूमि व्यवस्था विशेष अभियान उपसमितिका संयोजक डा. गोपाल दहितको नेतृत्वमा ‘संवाद र सहजीकरण संयन्त्र’ गठन गर्ने निर्णय पनि गरिएको छ। उक्त संयन्त्रले सम्बन्धित राजनीतिक दल तथा सरोकारवालाबीच समन्वय, संवाद र सहजीकरण गर्ने जनाइएको छ।
प्रतिष्ठानले सुकुमबासी समस्या समाधानका लागि राजनीतिक सहमति, मानवीय संवेदनशीलता र दीर्घकालीन नीतिगत दृष्टिकोण अपरिहार्य रहेको उल्लेख गर्दै सबै पक्षलाई यस विषयलाई साझा राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आग्रह गरेको छ।




