काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई काठमाडौं जिल्ला अदालतले चार वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबार पाण्डेलाई ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै एकीकृत रूपमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
अदालतले गृह मन्त्रालयको सचिव पदमा कार्यरत रहँदा पाण्डेले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको ठहर गरेको छ। सरकारी प्रतिवेदन तथा आधिकारिक कागजातमा अनधिकृत हेरफेर गरी नक्कली शरणार्थीको सूची तयार पार्न भूमिका खेलेको अभियोग अदालतले प्रमाणित भएको निष्कर्ष निकालेको हो।
यसअघि अदालतले पाण्डेलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको थियो। सजाय निर्धारणका क्रममा अदालतले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।




