काठमाडौं – सुनसरीको इटहरी उपमहानगरपालिका-२० नजिक नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीका अनुसार बा १ ञ १६५१ नम्बरको भ्यान गएराति कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गर्दा अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा चालक धरान उपमहानगरपालिका-१३ निवासी ३२ वर्षीय बिर्खबहादुर राई र धरान-१६ निवासी ४९ वर्षीय सुमन आचार्य गम्भीर घाइते भएका थिए। दुवैको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका धरान उपमहानगरपालिका-२० निवासी ३२ वर्षीय पवन राईको सोही अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार भ्यान आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




