अनलाइनखबरको गेटमा पार्किङ गरिएको गाडी आँखा क्लिनिक सञ्चालकको नाममा, घटनाबारे अनुसन्धान जारी

काठमाडौं- अनलाइनखबरको कार्यालय प्रवेशद्वार अवरुद्ध हुने गरी सोमबार बिहान पार्किङ गरिएको शंकास्पद गाडी काठमाडौंको गोकर्णेश्वरस्थित एक आँखा क्लिनिक सञ्चालकको नाममा दर्ता रहेको खुलेको छ।

यातायात व्यवस्था कार्यालयको अभिलेखअनुसार बा १२ च ८५४५ नम्बरको गाडी गोकर्णेश्वर नगरपालिका–९ निवासी सुनिल पौडेलको नाममा दर्ता रहेको छ। उनी गोकर्णेश्वरको भगवतीस्थानमा शंखडोल आई क्लिनिक एन्ड अप्टिकल हाउस सञ्चालन गर्दै आएका छन्।

घटनाबारे अनलाइनखबरले सम्पर्क गर्दा पौडेलले गाडी आफ्नो नाममा भए पनि आफूले नचलाएको र अर्कैले प्रयोग गरिरहेको बताएका छन्। उनले सम्बन्धित व्यक्तिसँग कुरा गर्न भन्दै अर्को मोबाइल नम्बर उपलब्ध गराएका थिए।

उक्त नम्बरमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफ्नो परिचय खुलाउन अस्वीकार गर्दै सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरेका थिए। उनले कार्यालय अगाडि गाडी पार्किङ गरिएको विषयलाई शंकास्पद रूपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका थिए।

यसअघि सोमबार बिहान कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनलगायत सञ्चारगृहका प्रवेशद्वार अवरुद्ध हुने गरी बेवारिसे अवस्थामा गाडी पार्किङ गरिएपछि प्रहरीले ह्वील लक लगाएर क्रेनमार्फत ती सवारीसाधन हटाएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्