काठमाडौं – कान्तिपुर पब्लिकेशन, अनलाइनखबर र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वार अवरुद्ध हुने गरी पार्किङ गरिएका बेवारिसे सवारीसाधन प्रहरीले हटाएको छ। प्रहरीका अनुसार आइतबार बिहान ८ बजुअघि नै सञ्चारगृहको आवतजावत प्रभावित हुने गरी छाडिएका गाडीमा ह्वील लक लगाएर क्रेनमार्फत हटाइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर आपत्ति जनाएको छ। महासङ्घले विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीलाई आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न अवरोध सिर्जना गर्ने र सञ्चारगृहमा त्रास फैलाउने प्रयास भएको भन्दै कडा विरोध गरेको छ। महासङ्घले प्रेस स्वतन्त्रताको सम्मान गर्दै सञ्चार संस्थाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाको निवासको गेट अगाडि पनि बेवारिसे गाडी फेला परेको छ। बिहानैदेखि घरको प्रवेशद्वार अवरुद्ध हुने गरी राखिएको उक्त गाडीका कारण मोटरसाइकलसमेत बाहिर निकाल्न नसकिने अवस्था बनेको बताइएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।




