काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन रहेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनुअघि सरकारी खाताबाट गरिने भुक्तानी आज राति १२ बजेसम्म मात्रै गर्न पाइनेछ।
नियमावलीअनुसार आर्थिक वर्ष सकिनुभन्दा सात दिनअघि नै खाता बन्द गरी बजेट निकासा रोक्का गर्नुपर्ने व्यवस्था रहे पनि आज मध्यरातदेखि सबै तहका सरकारका खातामा औपचारिक रूपमा बन्दी लागू हुनेछ। यो व्यवस्था संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायमा लागू हुने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार आजसम्म भुक्तानी हुन नसकेका खर्च आगामी आर्थिक वर्षको बजेटबाट मात्रै भुक्तानी गर्न सकिनेछ।
हालसम्म सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ अर्थात् करिब ७८ प्रतिशत बजेट खर्च भएको छ।
त्यसमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँमध्ये १० खर्ब ३० अर्ब ४२ करोड ८४ लाख रुपैयाँ अर्थात् ८७.२५ प्रतिशत खर्च भएको छ। पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँमध्ये १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ अर्थात् ४० प्रतिशत मात्रै खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँमध्ये ३ खर्ब ३८ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ अर्थात् ९०.१७ प्रतिशत बजेट खर्च भएको छ।
भुक्तानीको अन्तिम दिन भएकाले सरकारी कार्यालयमा चाप उल्लेख्य रूपमा बढेको छ। हिजो मात्रै सरकारी खाताबाट १७ अर्ब ९ करोड ६६ लाख रुपैयाँ भुक्तानी भएको थियो। त्यसअघि मंगलबार ११ अर्ब ७६ करोड २२ लाख रुपैयाँ र सोमबार २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएको थियो।
आज अन्तिम दिन भएकाले सडक विभाग, शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय तहलगायत विभिन्न सरकारी निकायमा भुक्तानी प्रक्रिया टुंग्याउने काम तीव्र रूपमा भइरहेको छ। यद्यपि, चालू खर्चको तुलनामा विकास बजेट अर्थात् पूँजीगत खर्च भने अपेक्षाअनुसार हुन नसकेको देखिएको छ।




