काठमाडौं । साप्ताहिक पत्रिकाका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज (नेपाल च्याप्टर) ले दिपेन्द्र चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
बिहीबार सम्पन्न समाजको साधारणसभाले अध्यक्षमा दिपेन्द्र चौहान, उपाध्यक्षमा प्रदीप काफ्ले, सदस्य सचिवमा विनय देवकोटा तथा सदस्यमा तुला अधिकारीलाई सर्वसम्मत चयन गरेको हो।
त्यसैगरी, समाजका संस्थापक तथा निवर्तमान अध्यक्ष कविर राणालाई संरक्षकको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि साधारणसभाले गरेको छ।
साधारणसभाले नवनिर्वाचित अध्यक्ष चौहानलाई आगामी जुलाई १५ देखि १९ सम्म बेलायतको वेल्समा हुने अन्तर्राष्ट्रिय समाजको साधारणसभामा नेपाल शाखाको प्रतिनिधित्व गर्ने जिम्मेवारीसमेत दिएको छ। उक्त कार्यक्रममा उनले नेपाल शाखाका गतिविधि तथा नेपाली पत्रकारिताको वर्तमान अवस्थाबारे प्रस्तुति दिनेछन्।
समाजले नयाँ कार्यसमितिको नेतृत्वमा साप्ताहिक पत्रिका क्षेत्रको व्यावसायिक विकास, सम्पादकीय क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।





