काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगायत तेस्रो मुलुक पठाउने प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतलाई दोषी ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले बहुचर्चित मुद्दामा फैसला सुनाउँदै विभिन्न कसुरमा उनीहरूको संलग्नता ठहर गरेको हो।
अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकेको छ। २०८० जेठ १० गते दायर भएको यस मुद्दामा सरकारी लिखत किर्ते, सङ्गठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरअन्तर्गत अभियोजन गरिएको थियो।
फैसलाअनुसार केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर गरिएको छ। केशवप्रसाद दुलाल, सानु भण्डारी र टेकनाथ रिजाललाई सरकारी लिखत किर्ते कसुरमा समेत दोषी ठहर गरिएको छ।
त्यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरमा मतियार रहेको ठहर अदालतले गरेको छ।
अदालतले ३० प्रतिवादीमध्ये सात जनालाई भने अभियोगबाट सफाइ दिएको छ। सफाइ पाउनेमा टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, रामशरण केसी, टङ्ककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।
यस्तै, अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाईं, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकीविरुद्धको मुद्दा भने मुलतबीमा रहने अदालतले जनाएको छ।




