काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदरभन्दा दक्षिणतर्फ तथा पश्चिमी भूभागमा सरदर स्थानकै आसपास रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेश प्रदेश र कर्णालीका पहाडी क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। साथै, पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हुरीबतास चल्ने सम्भावना पनि रहेको छ।
महाशाखाका अनुसार आज राति वर्षाको गतिविधि अझ सक्रिय हुने अनुमान गरिएको छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनीसमेत दिइएको छ।
महाशाखाले कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको जोखिम रहेकाले बाढी, पहिरो र डुबानबाट सतर्क रहन तथा विभागका पछिल्ला मौसम सम्बन्धी सूचनालाई नियमित रूपमा पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।




