गाउँपालिका अध्यक्षसहित गुल्मीका थप दुई जनामा कोरोना पुष्टि

गुल्मी – गुल्मीमा थप दुई जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ ।

दुई जनामध्ये एक जना गाउँपालिका अध्यक्ष रहेको र एक जना भारतबाट आई धुर्कोट गाउँपालिकाको क्वारेन्टाइनमा बसेको कार्यालयले जनाएको छ ।
उनीहरू ३६ र ३७ बर्षका रहेका छन् र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ । उनीहरूलाई सदरमुकाम तम्घासमा रहेको आइसोलेसनमा राखेर उपचार गरिने स्वास्थ्य कार्यालयका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिनुभयो ।

सिडिओदेखि पत्रकार सम्मको स्वाब सङ्कलन

गुल्मीमा जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण देखिएपछि उनको सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारीदेखि पत्रकारसम्मका ४४ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जनप्रतिनिधिको सम्पर्कमा आएका जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख, कार्यालय प्रमुखहरू र पत्रकारलगायत ४४ जनाको स्वाब सङ्कलन गरिएको र स्वाबलाई प्रादेशिक प्रयोगशाला, रुपन्देहीमा परीक्षणका लागि पठाइने शर्माले जानकारी दिए ।

मृतक शिक्षकको सम्पर्कमा आएका एक जनामा कोरोना

कोरोना सङ्क्रमणबाट मृत्यु भएका शिक्षकको सम्पर्कमा आएका एक जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको छ ।

जिल्लाको मदाने गाउँपालिका पुर्कोटदहका ४१ वर्षीय पुरुषको उपचारको क्रममा क्रिमसन अस्पाताल, रुपन्देहीमा मृत्यु भएको र उहाँको सम्पर्कमा आएका ३० जनामध्ये एक जनाको रिपोर्ट पोजिटिभ आएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

उनको सम्पर्कमा आएका एक जनाको सदरमुकाम तम्घासमा रहेको आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य कार्यालय, गुल्मीले जनाएको छ । योसँगै गुल्मी जिल्लामा मृतक शिक्षकसहित चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्